नवराज पौडेल, कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा स्थित जनता हेल्थ क्लिनिक मा कथित मेडिकल ठगीको घटना सार्वजनिक भएपछि स्थानीय सामाजिक संस्था व्हाइट टाइगर अर्गनाइजेसन को पहलमा पीडित परिवारले राहत पाएका छन्। संस्थाको सक्रिय हस्तक्षेपपछि क्लिनिक व्यवस्थापनले पीडित परिवारलाई ३५ हजार रुपैयाँ फिर्ता गरेको बताइएको छ।
दाङको गढवा गाउँपालिका निवासी सीमा डाँगी क्षेत्री खुट्टा दुख्ने तथा सास फेर्न समस्या भएपछि उपचारका लागि चन्द्रौटा आएकी थिइन्। परिवारका अनुसार उनलाई एम्बुलेन्समार्फत जनता हेल्थ क्लिनिकमा पुर्याइएको थियो।
पीडित परिवारका अनुसार फागुन ३० गते राति करिब १० बजेदेखि बिहान ६ बजेसम्म गरिएको सामान्य उपचारकै नाममा औषधि तथा सेवा खर्च गरी ५२ हजार रुपैयाँ बिल बनाइएको थियो। बिरामीलाई दुई वटा सुई, तीन बोतल सलाइन पानी र एउटा इसिजी (ECG) परीक्षण मात्र गरिएको भए पनि यति ठूलो रकम असुलिएको भन्दै परिवारले गम्भीर आपत्ति जनाएको छ।
त्यसपछि क्लिनिकले बिरामीलाई एक हप्ता क्लिनिकमै राखेर उपचार गर्नुपर्ने भन्दै थप १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने बताएको पीडित पक्षको गुनासो छ। परिवारले यति ठूलो रकम तत्काल जुटाउन नसक्ने भन्दै बिरामीलाई अन्य अस्पतालमा रिफर गरिदिन अनुरोध गर्दा क्लिनिकबाट सहयोग गर्नुको सट्टा उल्टै धम्की तथा दबाब दिइएको उनीहरूले बताएका छन्। बाध्य भएर बिल तिरेपछि मात्रै बिरामीलाई बाहिर लैजान पाएको परिवारले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि चन्द्रौटामा सक्रिय सामाजिक संस्था व्हाइट टाइगर अर्गनाइजेसन पीडित परिवारको पक्षमा उभिएको थियो। संस्थाका अध्यक्ष केशब थापा लगायतको टोलीले क्लिनिक व्यवस्थापनसँग छलफल गरी घटनाको वास्तविकता बुझ्दै पीडितलाई न्याय दिलाउन पहल गरेको थियो।
संस्थाको सक्रियता र दबाबपछि क्लिनिक व्यवस्थापनले आफूबाट त्रुटि भएको स्वीकार गर्दै पीडित परिवारलाई ३५ हजार रुपैयाँ फिर्ता गरेको स्रोतले जनाएको छ। यस कदमपछि पीडित परिवारले केही राहत महसुस गरेको बताएका छन्।
व्हाइट टाइगर अर्गनाइजेसनका अध्यक्ष थापाले सर्वसाधारणलाई अन्याय र ठगीबाट जोगाउन आफ्नो संस्था सधैं पीडितको पक्षमा उभिने बताएका छन्। उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा मनपरी शुल्क असुल्ने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित निकायले कडा अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याए।
स्थानीय बासिन्दाले पनि सामाजिक संस्थाको पहलका कारण पीडितले राहत पाएको भन्दै व्हाइट टाइगर अर्गनाइजेसनको भूमिकाको प्रशंसा गरेका छन्। उनीहरूले यस्ता घटनामा सरोकारवाला निकायले समयमै छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।











