कपिलवस्तु —आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बिरेन्द्र कुमार कनौडिया ले शिक्षा सुधारलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।
घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै उनले “हरेक वडामा माध्यमिक विद्यालय र हरेक पालिकामा प्राविधिक शिक्षा केन्द्र” स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार शिक्षा नै दीगो विकास र समृद्धिको आधार भएकाले स्थानीय तहबाटै गुणस्तरीय शिक्षा पहुँच सुनिश्चित गरिनेछ।
कनौडियाले अहिले धेरै विद्यार्थी माध्यमिक तहपछि अध्ययनका लागि बाहिर जान बाध्य भएको उल्लेख गर्दै अब आफ्नै क्षेत्रमा आधुनिक पूर्वाधारसहितको माध्यमिक विद्यालय र सीपमूलक प्राविधिक शिक्षा केन्द्र स्थापना गरिने बताए। “हाम्रा युवाले अवसर खोज्दै शहर वा विदेश धाउन नपरोस्, यहीँ पढ्ने, सिक्ने र कमाउने वातावरण बनाउनु मेरो लक्ष्य हो,” उनले भने।
उनले शिक्षा क्षेत्रमा लगानी वृद्धि, दक्ष शिक्षक व्यवस्थापन, र प्राविधिक तालिममार्फत रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। स्थानीयवासीहरूले पनि शिक्षा केन्द्रित स्पष्ट योजना आएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
निर्वाचन नजिकिँदै जाँदा कनौडियाले शिक्षा, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अभियानलाई अझ सशक्त बनाउँदै लगेका छन्।











