घनश्याम भर(विजयनगर) कपिलवस्तु, २६ माघ ।कपिलवस्तुकाे पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत संयुक्त नाका अनुगमन गरेको छ । नेपाल-भारत सिमानामा पशुजन्य रोग नियन्त्रण, अवैध पशु आवतजावत रोकथाम तथा कानुनी प्रक्रिया कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको हो ।
विजयनगर गाउँपालिकासँग जोडिएका नेपाल-भारत सिमावर्ती क्षेत्रमा गरिएको उक्त अनुगमनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संयुक्त टोलीले सिमानाबाट हुने पशु तथा पशुजन्य पदार्थको ओसारपसार, क्वारेन्टाइन नियमको पालना र सुरक्षा व्यवस्थाको अवस्था निरीक्षण गरेको थियो ।
कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चौधरीले सिमानाबाट भित्रिने पशुमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया अनिवार्य रहेको बताए । उनले सीमावर्ती क्षेत्रमा पशुजन्य रोग फैलिने जोखिम उच्च हुने भएकाले समयमै अनुगमन र समन्वय अत्यन्त आवश्यक बताउँदै संयुक्त अनुगमनले अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताए ।
सशस्त्र प्रहरी बल नेपाल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक सिताराम श्रेष्ठले सीमा सुरक्षामा सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । खुला सिमाका कारण ठुलो चुनाैती रहेकाे बताउँदै पशु क्वारेन्टाइन, प्रहरी र स्थानीय सरोकारवालाबीच सहकार्य बढेमा अवैध ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न सकिने उनकाे भनाई छ ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल (बिओपी) जवाबैराठका प्रहरी निरीक्षक पदम जेठाराले सीमामा निगरानी थप कडा बनाइएको जानकारी दिँदै नियम विपरीत हुने कुनै पनि गतिविधिमा कडाइका साथ कारवाही गरिने बताए ।
प्रहरी चौकी ठकुरापुरका सहायक प्रहरी निरीक्षक पुष्कर सिंह कँवरले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सधैं प्रतिबद्ध रहेको बताउँदै स्थानीय व्यवसायी र नागरिकलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरे ।
संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा सीमा क्षेत्रमा देखिएका चुनौतीहरू पहिचान गर्दै आगामी दिनमा थप प्रभावकारी अनुगमन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमले सीमावर्ती क्षेत्रमा पशु स्वास्थ्य सुरक्षा र कानुनी व्यवस्थाको कार्यान्वयनमा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाई छ ।











