कपिलवस्तु -कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ मा यसपटकको चुनावी माहोल फरक देखिएको छ। परम्परागत नारा र दलगत वाचाभन्दा बाहिर निस्कँदै Right to Recall (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) लाई प्रमुख चुनावी मुद्दा बनाएर युवा पत्रकार चिन्ता परियार स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
पत्रकारितामार्फत लामो समयदेखि सुशासन, जवाफदेहिता र जनअधिकारका विषय उठाउँदै आएका परियारले “जनताले चुनेपछि पाँच वर्षसम्म हेरेर बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ” भन्ने मान्यतालाई आफ्नो अभियानको आधार बनाएका छन्।
परियार भन्छन्, “मतदान भनेको जनताको अन्तिम अधिकार होइन, सुरुवात मात्र हो। जनताको भरोसा तोड्ने जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउने अधिकार संविधान र कानुनले सुनिश्चित गर्नुपर्छ।” उनका अनुसार Right to Recall को अवधारणाले जनप्रतिनिधिलाई ‘शासक’ होइन ‘सेवक’ बनाउनेछ र उनीहरूलाई सधैं जनताप्रति उत्तरदायी रहन बाध्य पार्नेछ।
विकास बजेटको दुरुपयोग, जनताको आवाज बेवास्ता र चुनावपछि देखिने गैरजिम्मेवार प्रवृत्ति रोक्न यो अधिकार अत्यावश्यक रहेको परियारको दाबी छ। यही कारण स्थानीय युवाहरू, नागरिक समाज र सचेत मतदाताबीच उनको मुद्दाले उल्लेख्य चासो पाएको छ। एक स्थानीय मतदाताले भने, “पहिलो पटक हाम्रो क्षेत्रमा जनतालाई प्रत्यक्ष रूपमा शक्तिशाली बनाउने मुद्दा खुलेर उठाइएको छ।”
पेसाले पत्रकार रहेका परियारले सूचनाको पहुँच, पारदर्शिता र सत्यको पक्षमा उभिँदै आएको आफ्नो अनुभवलाई राजनीतिक यात्रामा उपयोग गर्ने बताएका छन्। उनको चुनावी अभियानमा महँगा प्रचार सामग्रीभन्दा घरदैलो संवाद, खुला बहस र सामाजिक सञ्जालमार्फत मुद्दामुखी प्रचारलाई प्राथमिकता दिइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार परियारको उम्मेदवारीले कपिलवस्तु–३ मा ‘नेतामुखी राजनीति कि जनमुखी अधिकार?’ भन्ने बहसलाई चुनावको केन्द्रमा ल्याएको छ। परियार स्वयं भने आफ्नो अभियानलाई केवल सिट जित्ने प्रयासमा सीमित नराख्ने बताउँछन्।
उनको भनाइ छ, “यदि म जितें भने मात्र होइन, जित्न नसके पनि Right to Recall राष्ट्रिय बहस बन्नुपर्छ। यही नै मेरो वास्तविक जित हुनेछ।”











