विजयनगर । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले यस वर्ष पनि बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ। गत वर्ष अधिकतम रगत संकलन गरी रेडक्रस सोसाइटीबाट सम्मानित हुँदै सफल कार्यक्रम सम्पन्न गरिएको यस कमिटीले निरन्तरताका रूपमा पुनः रक्तदान अभियान अघि बढाएको हो।
रक्तदान कार्यक्रम मंसिर २२ गते विजयनगर आधारभूत अस्पताल बद्धौरमा आयोजित हुने भएको कमिटीका अध्यक्ष तैलेश्वर खटिकले जानकारी दिनुभयो। उनहांका अनुसार यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विजयनगर गाउँपालिकाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग रहेको बताउनु भयो।
गत वर्ष मंसिर २२ गते सम्पन्न रक्तदान कार्यक्रममा १३० प्वाइन्ट रगत संकलन गरी उत्कृष्टता प्राप्त गरेको युवा संघ विजयनगरलाई रेडक्रस सोसाइटी रुपन्देहीले आफ्नो ६० औं स्थापना दिवसको अवसरमा सम्मानित गरेको थियो।
युवा संघले रक्तदान जस्ता मानवीय सेवामूलक गतिविधिमा सबै क्षेत्रका व्यक्तिहरूको सहभागिता अत्यन्तै आवश्यक भएको भन्दै आगामी कार्यक्रमलाई सफल पार्न सम्पूर्णलाई सहभागी हुन आग्रह गरेको छ।











