कपिलवस्तु, भदौ २४ –कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३ निवासी तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति प्रवक्ता ईश्वरी प्रसाद पाण्डेयले पार्टी परित्याग गरी स्वतन्त्र हुने घोषणा गरेका छन्।
पाण्डेयले २०३६ सालमा नेविसंघमा नेता चन्द्र भण्डारीको हातबाट साधारण सदस्यता लिएदेखि निरन्तर पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएका थिए। तर, भदौ २३ गते जेन-जि युवा पुस्ताले आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारद्वारा गरिएको दमनका कारण १९ जना युवाले ज्यान गुमाउनु दुःखद रहेको उल्लेख गर्दै उनले गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।
घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दै पाण्डेयले सरकारको दमनकारी शैलीप्रति आपत्ति जनाएका छन्। उनले भने, “यस बिषम परिस्थितिमा सरकारले गरिरहेको दमनमा कांग्रेस पार्टी पनि सरकारमै सहभागी भएकाले अब पार्टीभित्र बसेर काम गर्न सक्ने अवस्था छैन। मेरो स्वविवेकले आजैदेखि स्वतन्त्र रहने निर्णय गरेको छु।”









