कपिलवस्तु । शिवराज नगरपालिकाले लामो समयदेखि सडक मिचेर बनेका संरचना भत्काएको छ ।
वडा नम्बर ५ को केबी पेट्रोल पम्प दक्षिणतर्फको बाटोमा सडक अतिक्रमण गरी निर्माण गरिएको संरचना नगरपालिकाले जेसिबी प्रयोग गरेर हटाएको हो । राजमार्गबाट दक्षिण गाउँतर्फ जाने बाटोमा सडक मिचेर ट्वाईलेटको संरचना बनेपछि बाटो अवरुद्ध हुँदै आएको भन्दै उक्त संरचना भत्काईएको अध्यक्ष बेल्बासेले बताउनु भयो ।
उक्त बाटो पटक–पटक पिचका लागि बजेट विनियोजन भए पनि संरचना अतिक्रमणका कारण बजेट फ्रीज हुँदै आएको वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेले जानकारी दिनुभयो । नगर र वडाको पटक–पटकको निर्देशन अवज्ञा भएपछि आज पालिकाले जेसिबी लगाएर संरचना हटाएर बाटो खुलाइएको उहाँको भनाइ छ ।
यस क्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो । संरचना हटाएसँगै बाटो पिच गर्ने कार्य अघि बढ्ने अध्यक्ष बेल्बासेले बताउनु भयो ।
नगरले भत्काएको संरचना आफ्नो जग्गामा भएको तर आफुले बाटोका लागि चार मिटर दिने सहमति भएको भए पनि आज आफुसंग सम्पर्क नै नगरि बलजफ्ती संरचना नगरले भत्काएको मेवालाल गुप्ताले बताउनु भयो । आफू अन्यायमा परेको भन्दै कानुनि उपचारमा जाने बताउनुभयो ।











