काठमाडौं । सत्ताारुढ दल नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयमाथि आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले इम्बोस्ड नम्बर प्लेट तत्काल कार्यान्वयन गर्दा आम जनतामा थप सास्ती, हैरानी र झन्झट बढ्ने भन्दै सरकारलाई तत्काल स्थगित गर्न आग्रह गरेका हुन् ।
उनले आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा यो योजना अघि बढाउनुपर्नेमा जोड दिए । साथै, इम्बोस्ड नम्बरलाई अंग्रेजी भाषामै राखिएको विषयलाई औंल्याउँदै उनले आम जनताले भाषा र भावनासँग जोडेर उठाएका प्रश्नलाई बेवास्ता गर्न नहुने बताए ।











