कपिलवस्तु,शिवराज नगरपालिका वडा नम्बर १, शिवपुरमा श्रम ऐन, २०७४ मा व्यवस्था गरिएका श्रमिकका अधिकारसम्बन्धी विषयमा केन्द्रित एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शिवराज नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा श्रमिक वर्ग, रोजगारदाता, नगरका जनप्रतिनिधि, श्रम सम्बन्धित संघ-संस्था होटल ब्यावसायी संघ, निमार्ण ब्यावसयि, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।
अन्तरक्रिया कार्यक्रममा श्रमिकको न्यूनतम पारिश्रमिक, सुरक्षित कार्य वातावरण, श्रम अनुबन्ध, सामाजिक सुरक्षा कोषमा सहभागीता, मातृत्व सुविधा, कार्यस्थलमा हुने दुव्र्यवहारविरुद्धको कानुनी प्रबन्ध लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेलले श्रम अधिकार मानव अधिकारकै अभिन्न अङ्ग भएको उल्लेख गर्दै श्रमिकहरूको कानुनी चेतनामा अझ व्यापकता ल्याउनु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो:
"श्रम ऐन २०७४ केवल कानुनी दस्तावेज होइन, यो श्रमिकहरूको जीवनस्तर सुधार गर्ने माध्यम हो। तर कानुनको अक्षरमात्र पढेर पुग्दैन, व्यवहारमा उतार्न सक्ने प्रयास आवश्यक छ। स्थानीय सरकार, श्रमिक स्वयं र रोजगारदाताबीच सहकार्य र समझदारी भए मात्र ऐनको सार्थक कार्यान्वयन सम्भव हुन्छ। श्रमिक अधिकारलाई सुनिश्चित गर्नु सामाजिक न्यायको मेरुदण्ड हो।”
उहाँले भन्नू भयो हाम्रो समाजमा श्रमलाई अझै सम्मानको दृष्टिले हेर्न सकिएको छैन, जबसम्म सोच परिवर्तन हुँदैन, श्रमिकको अवस्था बदलिँदैन।
शिवराज नगर प्रमुख अजय थापाले कार्यक्रममा श्रमिकहरूको जीवनस्तर उकास्न श्रम ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उहाँले नगरपालिकाले श्रम अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न निरन्तर प्रयास गरिरहेको र आगामी दिनमा श्रमिकमैत्री नीति तथा कार्यक्रमहरू थप सशक्त रूपमा लागू गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
श्रमिकको न्युनतम पारिश्रमिक मासिक रु १९५५०,दैनिक रु ७५४ र प्रतिघन्टा रु १०१ हुनु पर्ने प्रावधान रहेको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले श्रमिकहरूको हकहित सुनिश्चित गर्न ऐन र कानुनबारे व्यापक जनचेतना फैलाउनु पर्नेमा जोड दिए। एक्सन एड नेपालका प्रतिनिधिले पनि श्रम अधिकार मानव अधिकारको महत्वपूर्ण अङ्ग भएको भन्दै यसप्रति सबै सरोकारवालाको उत्तरदायित्व रहेको बताए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले श्रमिकको अधिकार सुनिश्चित गर्न नगर तहबाट हुने पहलहरूको स्वागत गर्दै यस्ता कार्यक्रमले श्रमिक–नियोक्ता सम्बन्ध सुधारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।











