३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फ्ल्डलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ।
सोमबार प्रचण्डले संसदमा सम्बोधन गर्दै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति भइरहेको ढिलाइप्रति प्रश्न उठाएका थिए ।
‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ- कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?’, जवाफमा ओलीले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’
प्रधानमन्त्री ओलीले थपेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन।’
प्रधानमन्त्री ओलीले प्रचण्डलाई कुनै वाचार संकल्प नभएका नेता भनेका छन् । ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’ उनले भनेका छन्, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें ।
ओलीले थपेका छन्, ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’











