भैरहवा : रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका छन्।
मुद्दाको मिसिल अध्ययन गर्दा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान अधिकृतलाई रिहा गर्न निर्देशन दिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।
‘थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान जारी राख्ने गरी हाजिरी जमानीमा रिहा गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको छ’, उनले भने, ‘अनुसन्धान अधिकृतलाई बोलाएको बखत जमानी लिएर जाने व्यक्तिले प्रतिवादीलाई उपस्थित गराउनुपर्छ।’
पालिका अध्यक्षलाई रिहा गर्नका लागि केन्द्र स्तरबाट स्थानीय स्तरमा दवाव बढेको थियो। अध्यक्ष चौधरीमाथी जबरजस्ती करणी मुद्दाका पीडितको गोपिनियता भंग गरेको आरोप छ। प्रहरीका अनुसार उनीविरुद्ध जेठ १ गते जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि मंगलबार (जेठ ६ गते) उनी आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए।
जसपश्चात मुद्दाको मिसिल तयार गरेर सरकारी वकिल कार्यालय लगिएपछि त्यहाँ पनि तत्काल बयान गराएर अध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरिएको हो।











