टुडे संचार , चन्द्रौटा - कपिलवस्तुको शिवराज नगरपालिका–५ ले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा १६ लाख ६६ हजार ७४७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाका ११ वडामध्ये वडा नम्बर ५ सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने वडा बनेको छ ।
वडा कार्यालयले साउनदेखि मङ्सिर ४ गतेसम्म विभिन्न शीर्षकमा राजस्व सङ्कलन गरेको हो । यस अवधिमा सबैभन्दा बढी राजस्व साउन महिनामा सङ्कलन भएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष बेल्बासेले सेवा प्रवाहसँगै राजस्व सङ्कलनलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । जनअपेक्षाअनुसार सेवा प्रदान गर्न वडा कार्यालयबाट निरन्तर पहल भइरहेको उल्लेख गर्दै उहाँले कर्मचारीको सक्रियता र सेवाग्राहीको सहयोगले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
वडा कार्यालयका अनुसार साउन महिनामा छ लाख १२ हजार ८९३ रुपियाँ राजस्व सङ्कलन भएको थियो । उक्त महिनामा भूमि करबाट दुई लाख ४९ हजार ५३३ रुपियाँ, सिफारिस दस्तुरबाट एक लाख एक हजार ५१ रुपियाँ, बहाल बिटौरी करबाट ९९ हजार ३४० रुपियाँ र सम्पत्ति करबाट ६७ हजार २३६ रुपियाँ सङ्कलन भएको थियो ।
त्यसैगरी, भदौ महिनामा चार लाख २२ हजार १० रुपियाँ राजस्व सङ्कलन भएको थियो । यस अवधिमा भूमि तथा मालपोत करबाट एक लाख ५८ हजार १०२ रुपियाँ, सिफारिस दस्तुरबाट ८६ हजार ५० रुपियाँ, बहाल बिटौरी करबाट २१ हजार ३१० रुपियाँ र बहाल करबाट ६९ हजार १९४ रुपियाँ सङ्कलन भएको थियो ।
असोज महिनामा चार लाख २६ हजार ३६२ रुपियाँ राजस्व सङ्कलन भएको वडा कार्यालयले जनाएको छ । उक्त महिनामा भूमि करबाट एक लाख १७ हजार ६८१ रुपियाँ, सिफारिस दस्तुरबाट एक लाख दुई हजार ९५० रुपियाँ, बहाल करबाट एक लाख १० हजार ४६१ रुपियाँ र सम्पत्ति करबाट २४ हजार ६१३ रुपियाँ सङ्कलन भएको थियो ।
कार्तिक महिनामा भने राजस्व सङ्कलन घटेर एक लाख ५७ हजार ८०४ रुपियाँमा सीमित भएको छ । उक्त महिनामा भूमि करबाट ७० हजार ५७८ रुपियाँ, सम्पत्ति करबाट ११ हजार ९६५ रुपियाँ, बहाल करबाट ११ हजार ४०० रुपियाँ र बहाल बिटौरी करबाट चार हजार ८५० रुपियाँ सङ्कलन भएको थियो ।मङ्सिर महिनाको पहिलो चार दिनमा ५० हजार रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको वडा कार्यालयले जनाएको छ ।
यस अवधिमा शिवराज नगरपालिकाले १ करोड ४२ लाख ५० हजार २ सय ६३ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
वडा सचिव कल्पना चौधरीले सेवाग्राहीलाई वडाबाट प्रदान हुने सेवा तथा लाग्ने राजस्वबारे आवश्यक जानकारी उपलब्ध गराउँदै सेवा प्रवाहलाई सहज बनाइएको बताउनुभयो । राजस्व तिर्नुपर्ने सेवाग्राहीलाई समयमै जानकारी गराउने र राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।









