मंसिर ४ गते, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कात्तिक महिनामा ५६ वटा मुद्दा दर्ता गरी ५० जनालाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनलाई तीव्रता दिँदै प्रहरीले ४८ जना फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । यस अवधिमा ट्राफिक कारबाहीबाट मात्रै १ करोड २५ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज आयोजना गरेको मासिक सञ्चारकर्मी भेटघाट कार्यक्रममा कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले उक्त जानकारी दिनुभएको हो । फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका ४८ जना फरार प्रतिवादीमध्ये ४७ पुरुष र एक महिला रहेका उहाँले बताउनुभयो । उनीहरूबाट ७ वर्ष ७ महिना २१ दिन कैद तथा ७३ हजार ८ सय ७२ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ ।
कात्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४ सय ६३ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ती कारबाहीबाट कुल १ करोड २५ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ । सामान्य ट्राफिक कारबाहीमा १ हजार ४ सय २२ वटा सवारीसाधनबाट २१ लाख ८० हजार रुपैयाँ असुल भएको छ ।
यस्तै, ओभरलोडिङ कारबाहीमा १ हजार ४१ वटा सवारीसाधनबाट १ करोड ४ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । यसैगरी, विभिन्न सामग्री बरामद तथा कारबाहीबाट ५५ लाख ८० हजार ६१ रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ । यसमध्ये अन्य सामग्रीबाट ३६ लाख ५२ हजार ४ सय ९१ रुपैयाँ, काठबाट ३ लाख रुपैयाँ र दुईवटा मोटरसाइकलबाट १ लाख ६० हजार रुपैयाँ रहेको छ । बाँकी रकम किराना, सवारीसाधन तथा लत्ताकपडालगायतका सामग्रीबाट संकलन भएको हो ।
यसैबीच, कात्तिक महिनामा कपिलवस्तुमा ९२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय २९ वटा सवारीसाधन संलग्न रहेका थिए । दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन् । यस्तै, यस अवधिमा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका १ सय ९० वटा उजुरी परेका थिए । घरेलु हिंसासम्बन्धी सातवटा उजुरीसमेत प्राप्त भएका थिए । प्रहरीले प्राप्त भएका सबै १ सय ९७ उजुरी फछ्र्योट गरेको विवरणमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयले मासिक रूपमा सञ्चारकर्मीसँग भेटघाट गरी प्रहरी गतिविधि, अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।
यस्तै, कपिलवस्तुमा चार महिनामै सवारी दुर्घटनामा २६ जनाको मृत्यु, ट्राफिक कारबाहीबाट ८९ लाख राजस्व संकलन ।
कपिलवस्तुमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा भएका २ सय ९२ सवारी दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने ४ सय ७९ जना घाइते भएका छन् ।
साउनदेखि कात्तिकसम्म भएका दुर्घटनामा १९ पुरुष, ४ महिला र ३ बालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा १ सय २३ जना गम्भीर र ३ सय ५६ जना सामान्य घाइते भएका छन् । यसै अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार २९ सवारी साधनलाई कारबाही गरी ८९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
ट्राफिक नियम पालना नगर्नु, तीव्र गति, मादक पदार्थ सेवन, चालक अनुमतिपत्रबिना सवारी चलाउनु र सडकको दुरावस्था दुर्घटनाका प्रमुख कारण रहेको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले चार महिनामा ९ सय ८१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५४ हजार ८ सय ९२ जनालाई ट्राफिक नियमबारे जानकारी गराएको छ ।
यसैगरी, भारवहन क्षमताभन्दा बढी सामान बोकेका २ हजार ६ सय ५६ भारतीय मालवाहक सवारी साधनलाई कारबाहीका लागि यातायात सेवा कार्यालय तौलिहवा पठाइएको छ । ती सवारीबाट २ करोड ६५ लाख ६० हजार रुपैयाँ जरिवाना संकलन भएको छ । गत आर्थिक वर्षमा कपिलवस्तुमा ६ सय ८५ सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।
भुपाल थापाबाट









