कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ ले सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा झुण्ड्याइएका तार तत्काल व्यवस्थापन गर्न सम्बन्धित सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेको छ।
वडा कार्यालयले मंसिर ३ गते सार्वजनिक सूचना जारी गर्दै विद्युत्, इन्टरनेट, टेलिफोन, केबल तथा टिभी सेवाप्रदायक कम्पनीका तारहरू जथाभावी झुण्ड्याउँदा सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको जनाएको छ।
विशेषगरी बस तथा ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख गर्दै वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका सडक तथा सार्वजनिक स्थानमा रहेका लत्रिएका र अव्यवस्थित तार पहिचान गरी सुरक्षित तथा व्यवस्थित रूपमा व्यवस्थापन गर्न सम्बन्धित कम्पनीहरूलाई अनुरोध गरेको छ।
वडा अध्यक्ष खिम विक्रम केसीले सडकमा अव्यवस्थित रूपमा झुण्ड्याइएका तारले सवारी आवागमनमा समस्या सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिम बढाएको बताउनुभयो। उहाँले सम्बन्धित सेवा प्रदायक कम्पनीहरूले आफ्नो जिम्मेवारीमा रहेका तार तत्काल पहिचान गरी सुरक्षित र व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।
वडा कार्यालयले अव्यवस्थित तारका कारण सवारीसाधनमा तार अड्किएर टुटेमा कुनै पनि सवारीधनीले क्षतिपूर्तिको दाबी गर्न नपाउने चेतावनीसमेत दिएको छ।









