डिलाराम भुसाल,कपिलवस्तु २ मंसिर ।प्रहरी सेवामा कुशल नेतृत्व, सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धता देखाउँदै प्रहरी निरीक्षक कालिका कार्कीले इलाका प्रहरी कार्यालय पिपरालाई उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयका रूपमा स्थापित गर्न सफल भएकी छन् । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा गैरकानुनी गतिविधि न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गरेबापत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले इलाका प्रहरी कार्यालय पिपरालाई पुरस्कृत गरेको बताएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक कार्कीको कुशल नेतृत्व, कार्ययोजना, निरन्तर अनुगमन र प्रहरी कर्मचारीलाई परिचालन गर्ने कार्यशैलीका कारण कार्यालयको कार्यसम्पादन प्रभावकारी बनेको र उनको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा मातहतका वडा प्रहरी इकाइहरूले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
कार्कीले जिम्मेवारी सम्हालेपछि आफ्नो कार्यक्षेत्रमा अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध भन्सार छली रोकथाम, लागूऔषध तथा निषेधित पदार्थको ओसारपसार नियन्त्रण, चोरी निकासी नियन्त्रणलगायतका क्षेत्रमा प्रहरी सक्रियता बढाउँदै आएकी छन् । साथै नागरिकको जीउधनको सुरक्षा, सामाजिक अपराध न्यूनीकरण तथा प्रहरी–नागरिक सम्बन्ध सुमधुर बनाउने कार्यलाई समेत प्राथमिकतामा राखेकी छन् ।
प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा प्रहरी कर्मचारीहरूबीच समन्वय, अनुशासन, जिम्मेवारीबोध र कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि हुनुका साथै मातहतका प्रहरी इकाइहरूको परिचालनसमेत प्रभावकारी बनेको छ । यही सक्रियता र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले इलाका प्रहरी कार्यालय पिपरालाई पुरस्कृत गरेको बताएको छ ।
कार्यालयले प्राप्त गरेको पुरस्कारलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्व क्षमता, कार्यकुशलता र सम्पूर्ण प्रहरी टोलीको मेहनतको उपलब्धिका रूपमा हेरिएको छ । यसले प्रहरी कर्मचारीहरूमा थप उत्साह र ऊर्जा थप्नुका साथै आगामी दिनमा अझ प्रभावकारी, जिम्मेवार र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।









