मंसिर २ गते । पर्यटकीय सम्भावना बोकेको कपिलवस्तुको सागर ताल पर्याप्त प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सम्पदाका रूपमा महत्वपूर्ण मानिने तालको उचित प्रवद्र्धन हुन नसक्दा सम्भावना हुँदाहुँदै पनि यसले पर्यटकीय पहिचान बनाउन सकेको छैन ।
कपिलवस्तु नगरपालिका–२, ठूलो बर्गदवामा अवस्थित सागर ताललाई सरकारले सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समेत समावेश गरेको थियो । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहे पनि यसको प्रचारप्रसार र पूर्वाधार विकासले अपेक्षित गति लिन सकेको छैन ।
जिल्लामा रहेका विभिन्न तालतलैयालाई पर्यटनसँग जोड्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । तर, सागर तालजस्ता सम्भावना बोकेका स्थल पर्याप्त प्रचारप्रसारको अभावमा पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत तालहरूको अवस्थाबारे सार्वजनिक अध्ययनले पनि संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा चुनौती रहेको देखाएको छ ।
तौलिहवास्थित सागर तालसमेत खुम्चिँदै गइरहेका तालमध्ये उल्लेख गरिएको छ । राष्ट्रिय ताल संरक्षण विकास समितिको सर्वेक्षण सन् २०२१ का अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ताल कपिलवस्तुमा ३ सय ५१ वटा रहेका छन् ।
तालको संरक्षणसँगै यसको प्राकृतिक स्वरूप कायम राख्ने, आवश्यक पूर्वाधार निर्माण गर्ने, नियमित सरसफाइ गर्ने र सञ्चारमाध्यम तथा डिजिटल माध्यमबाट व्यापक प्रचारप्रसार गर्न सके सागर ताललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सरोकारवाला बताउँछन् ।
स्थानीय तह, पर्यटनसम्बद्ध निकाय र समुदायबीच समन्वय गरी सागर तालको संरक्षण तथा प्रवद्र्धनमा ध्यान दिन सके यसले स्थानीय पर्यटन र आर्थिक गतिविधिमा समेत योगदान पुर्याउन सक्ने अपेक्षा उनीहरुको छ ।
भुपाल थापाबाट









