कपिलवस्तु — कपिलवस्तुको बुद्धभूमि नगरपालिका–५, प्रेमनगरस्थित सूर्योदय आधारभुत विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा ६६ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ।
नेपाल नेत्र ज्योति संघ, कपिलवस्तु शाखाको आयोजनामा तथा स्थानीय समाजसेवी राबेन्द्र कुमार ठाकुर ‘रवि’को समन्वय र आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा करिब २५० जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए। परीक्षणका क्रममा ६६ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ। शिविरमा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।
शल्यक्रिया गर्नुपर्ने पहिचान भएका सबै ६६ जनालाई भोलि बिहान ९ बजे कपिलवस्तु शाखा आँखा अस्पताल, तौलिहवामा उपस्थित हुन ठाकुरले आग्रह गर्नुभएको छ।
मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै ठाकुरले आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले जनताको सुख-दुःखमा साथ दिनु र उपचारको अभावमा उज्यालो गुमाउने अवस्थामा पुगेका व्यक्तिहरूको जीवनमा पुनः उज्यालो ल्याउन सक्नु नै आफ्नो सबैभन्दा ठूलो सन्तुष्टि भएको बताउनुभयो।
शिविर सफल बनाउन सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, कपिलवस्तु शाखा, स्वास्थ्यकर्मी, कपिलवस्तु सहिद स्मृति प्रतिष्ठान, स्थानीय सहयोगी तथा सम्पूर्ण शुभेच्छुकप्रति ठाकुरले आभार व्यक्त गर्नुभएको छ।
स्थानीयस्तरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता मानवीय अभियानले आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने अपेक्षा गरिएको छ।
भुपाल थापाबाट









