कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ र ४ मा अवस्थित स्वर्गद्वारी आश्रम बालहंस साङ्ग्वेद आश्रमको २७औँ साधारण सभा सम्पन्न भएको छ।
सभामा आश्रमको विगतका गतिविधि, आर्थिक अवस्था, उपलब्धि तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो। आश्रमका धार्मिक, आध्यात्मिक तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत जोड दिइएको थियो।
कार्यक्रममा पूर्वमन्त्री अर्जुन केसीले धार्मिक तथा आध्यात्मिक संस्थाहरूले समाजमा संस्कार, नैतिकता र सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आश्रमको संरक्षण र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
त्यस्तै, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आश्रमको धार्मिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै यसको विकास र प्रवर्द्धनमा सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले धार्मिक तथा आध्यात्मिक सम्पदाको संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
यसैबीच, आश्रमको आयोजनामा आगामी मंसिर १९ गतेदेखि महायज्ञ सञ्चालन हुने भएको छ। महायज्ञमार्फत धार्मिक तथा आध्यात्मिक गतिविधिलाई थप विस्तार गर्ने लक्ष्य राखिएको छ।
आश्रमका अध्यक्ष चुडामणि पोख्रेलले संस्थाको वर्तमान अवस्था, भावी योजना तथा महायज्ञ आयोजनाको उद्देश्यबारे जानकारी गराउँदै महायज्ञ सफल बनाउन सबैको साथ र सहयोगका लागि आग्रह गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।









