कपिलवस्तु । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत विभिन्न पालिकामा आइतबार विशाल शक्तिप्रदर्शन गरेको छ। उक्त र्यालीमार्फत एमालेले कपिलवस्तु–३ मा आफ्नो संगठन सुदृढ रहेको, जनसमर्थन बढ्दो क्रममा रहेको र आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने सन्देश दिन खोजेको राष्ट्रिय युवा संघ शिवराजका अध्यक्ष नारायण सापकोटाले बताउनु भयो।
मोटरसाइकल र्याली निर्वाचन लक्षित अभियानको एक हिस्सा भएको एमाले निर्वाचन परिचालन कमान्डर नेत्रराज अधिकारीले बताउनुभयो।
शिवराज नगरपालिका–७, जवाभारीबाट सुरु भएको प्रदर्शन शिवराज, विजयनगर हुँदै कृष्णनगर पुगेर कोणसभामा परिणत भएको थियो। पार्टीका झण्डा, ब्यानर र नारासहित निकालिएको र्यालीमा सयौं कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।
समापन कोणसभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार बितेन्द्र कनोडियाले आगामी निर्वाचनबाट एमालेले स्पष्ट बहुमतसहित मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो। जनताको हित, विकास र समृद्धिका लागि काम गर्ने एक मात्र सक्षम शक्ति एमाले भएको उहाँको भनाइ थियो। युवाहरूलाई भ्रममा पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले आम जनता सचेत भइसकेको तर्क गर्नुभयो।
कार्यक्रममा बोल्दै नेत्रराज अधिकारीले कपिलवस्तु–३ मात्र नभई समग्र मुलुकको विकास, स्थायित्व र समृद्धिको नेतृत्व गर्ने सामर्थ्य एमालेसँग रहेको दाबी गर्नुभयो। आगामी निर्वाचन राष्ट्रवादी र राष्ट्रविरोधी शक्तिबीचको स्पष्ट छनोट हुने भन्दै उहाँले एमाले राष्ट्रवादी धारको अगुवाइ गरिरहेको धारणा राख्नुभयो।











