कपिलवस्तु-कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरेन्द्र कुमार कनौडिया यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा जनभेटघाट तथा घरदैलो अभियानमा व्यस्त देखिनुभएको छ। निर्वाचन नजिकिँदै जाँदा उहाँले टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई तीव्रता दिनुभएको हो।
नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका कनौडियालाई सुरुवातमा पार्टीपंक्तिको साथ कत्तिको मिल्ला भन्ने चासो देखिए पनि पछिल्लो समय पार्टीका नेता–कार्यकर्ता एकजुट भएर सक्रिय बनेपछि उहाँको अभियान थप मजबुत बनेको छ।
निर्वाचन क्षेत्रको दक्षिणी मधेस क्षेत्रमा राम्रो पकड बनाइसक्नुभएका कनौडियालाई शिवराजको उत्तरी भेग तथा विजयनगर गाउँपालिकामा समेत पार्टीपंक्तिको सशक्त साथ मिल्न थालेपछि उहाँ उत्साहित देखिनुभएको छ।
कनौडियाले छपरामुक्त योजना, प्राविधिक (टेक्निकल) कलेज स्थापना, क्रिकेट रंगशाला निर्माण, किसानका लागि मलखाद तथा सिंचाइ सुविधा विस्तार, र स्वास्थ्य संस्थाको स्तरोन्नतिलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ। धार्मिक तथा जातीय विषयमा सहिष्णु र समावेशी दृष्टिकोण प्रस्तुत गर्दै उहाँ विकासलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिँदै आउनुभएको छ।
शुक्रबार उहाँले शिवराज नगरपालिका वडा नम्बर २, ९ र ११ का विभिन्न टोलमा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो। स्थानीय मतदाताले विकास र स्थायित्वको पक्षमा आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिएको अभियान टोलीले जनाएको छ।
कनौडियाको जनभेटघाट कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहने जनाइएको छ।











