कपिलवस्तु — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरेन्द्र कनोडियाले स्थानीय विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
फागुन ५ गते मंगलबारदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत बिहीबार उहाँले शिवराज नगरपालिकाका विभिन्न टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभयो। बिहानैदेखि मुख्य बजार चन्द्रौटासहित वडा नम्बर ५ अन्तर्गत खैरी, चैनपुर, नौडिहवा र सहज टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो।
कनोडियाले “जनताको साथ र विश्वासले मात्र क्षेत्रको समग्र विकास सम्भव हुन्छ” भन्दै आफूले उठाएका एजेन्डालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभियानका क्रममा स्थानीय मतदाताले उत्साहपूर्वक स्वागत गर्दै क्षेत्रको समृद्धि र स्थायित्वका लागि ठोस पहलको अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रममा एमालेका नेता–कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो।











