कपिलवस्तु -निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीले ‘इलेक्सन युथ फोर्स’ गठन गरेको छ। शिवराज नगरपालिका मा आयोजित कार्यक्रममा नारायण सापकोटाको संयोजकत्वमा २५ सदस्यीय इलेक्सन युथ फोर्स गठन गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन अभियानलाई प्रभावकारी बनाउन तथा युवाशक्तिलाई स्वयंसेवी रूपमा परिचालन गर्ने उद्देश्यले फोर्स गठन गरिएको जनाइएको छ। नगरका ११ वटै वडा समेटेर फोर्स गठन गरिएको संयोजक नारायण सापकोटाले जानकारी दिनु भयो ।
इलेक्सन युथ फोर्सका संयोजक नारायण सापकोटाले एमाले उम्मेदवारलाई विजयी गराउने लक्ष्यसहित युवाहरू एकजुट भएर लाग्ने बताउनुभयो। उहाँले एमालेको पक्षमा जनमत सिर्जना गर्न घरदैलो कार्यक्रम, मतदाता भेटघाट तथा चुनावी अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो। साथै निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन युथ फोर्सले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै युवाहरूको सक्रियता आवश्यक रहेको धारणा राखेका थिए। युवाशक्तिको परिचालनले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने र संगठनलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
इलेक्सन युथ फोर्स गठनसँगै कपिलवस्तु क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान थप सशक्त बन्ने अपेक्षा गरिएको छ। साथै युवाहरूलाई संगठित गर्दै घरदैलो अभियान, मतदाता सचेतना कार्यक्रम तथा चुनावी प्रचारप्रसारलाई तीव्र बनाइने तयारी गरिएको आयोजकले जनाएको छ।











