कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलो अभियानलाई तीव्रता दिएको छ। अभियानसँगै निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय सञ्चालन गरी मतदाताका समस्या, गुनासा र सुझावहरू पनि व्यवस्थित रूपमा संकलन गरिँदै आएको छ। यसले नागरिकमा थप भरोसा र उत्साह पैदा गरेको छ।
प्रत्यक्षतर्फका उम्मेदवार प्रकाश रजौरिया तथा समानुपातिकतर्फका उम्मेदवार मिर्जा रासिद बेगको नेतृत्वमा जम्बो टोली गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेको छ। घरदैलोका क्रममा क्षेत्रवासीका शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, खानेपानी, कृषि र सुशासनसम्बन्धी समस्याहरू बटुलिँदै आएका छन्।
उम्मेदवार रजौरियाले सम्पर्क कार्यालय र घरदैलो अभियानमार्फत प्राप्त जनसमस्यालाई प्राथमिकतामा राखी संसद् र नीतिगत तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। समानुपातिक उम्मेदवार बेगले समावेशी विकास, पारदर्शी शासन र नागरिकमैत्री सेवामा रास्वपाको स्पष्ट एजेन्डा रहेको बताए।
स्थानीयवासीले समस्यासुन्ने र समाधानको बाटो खोज्ने रास्वपाको शैलीलाई सकारात्मक रूपमा लिँदै सक्रिय सहभागिता जनाइरहेका छन्। निरन्तर सम्पर्क, प्रत्यक्ष संवाद र व्यवहारिक प्रतिबद्धताका कारण कपिलवस्तु–३ मा रास्वपाप्रतिको जनआकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा संगठन सुदृढीकरण र चुनावी व्यवस्थापनलाई थप मजबुत बनाएको छ। यसै क्रममा रास्वपा शिवराज नगर कमिटीका सभापति बालकृष्ण पाण्डेलाई चुनावी कमान्डरको जिम्मेवारी दिइएको छ।












