कपिलवस्तु-शिवराज नगरपालिका–१ मा शुक्रबारको माहोल सामान्य थिएन। बिहानैदेखि झण्डा, नाराहरू र कार्यकर्ताको चहलपहलले वडा नम्बर १ चुनावी रंगमा रंगिएको देखिन्थ्यो। यही उत्साहपूर्ण वातावरणबीच नेकपा एमालेले वडा कमिटीको विस्तारित बैठक सम्पन्न गर्नुका साथै निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गरेको छ।
कार्यक्रममा देखिएको विशाल जनसहभागिताले स्थानीय तहमा एमालेप्रतिको भरोसा अझै मजबुत रहेको संकेत गर्यो। कार्यकर्ता मात्र होइन, सर्वसाधारण नागरिकको सक्रिय उपस्थितिले आगामी निर्वाचनमा शिवराज–१ एमालेका लागि महत्वपूर्ण आधार क्षेत्र बन्दै गएको अनुभूति दिलाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका एमाले उम्मेदवार वीरेन्द्रकुमार कनौडियाले विकास, स्थायित्व र राष्ट्रिय स्वाधीनताका मुद्दालाई आफ्नो राजनीतिक यात्राको केन्द्रमा राख्दै आएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा शिवराज मात्र नभई समग्र क्षेत्रमा एमाले नेतृत्वले गरेको योगदान जनताले नजिकबाट अनुभूति गरेको दाबी गर्नुभयो।
देश अहिले आर्थिक चुनौती, राजनीतिक अस्थिरता र राष्ट्रिय स्वाधीनतासँग जोडिएका विभिन्न संकटको सामना गरिरहेको उल्लेख गर्दै कनौडियाले यस्ता परिस्थितिमा राष्ट्रवादी सोच र स्पष्ट दृष्टिकोण भएको नेतृत्व अपरिहार्य रहेको धारणा राख्नुभयो। “म उम्मेदवार मात्र हुँ, यो अभियानको सिपाही हुँ,” उहाँले भन्नुभयो, “जिताउने अधिकार र जिम्मेवारी राष्ट्रप्रेमी नागरिकको हातमा छ।”
त्यस अवसरमा निर्वाचन परिचालन कमिटीका संयोजक नेत्रराज अधिकारीले शिवराज क्षेत्र एमालेको विकास यात्राको प्रत्यक्ष साक्षी भएको उल्लेख गर्नुभयो। विगतमा भएका विकास निर्माण, जनजीविकासँग जोडिएका कार्यक्रम र जनतासँगको निरन्तर सम्बन्धकै कारण यसपटक पनि नागरिकले वीरेन्द्रकुमार कनौडियालाई अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो।
विस्तारित बैठक र कार्यालय उद्घाटनसँगै शिवराज–१ मा एमालेको चुनावी अभियानले थप गति लिएको छ। संगठन सुदृढीकरणदेखि घरदैलो अभियानसम्मको तयारीले आगामी दिनमा यहाँको राजनीतिक तापक्रम अझै बढ्ने संकेत देखिएको छ।











