परासी — विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत हालसम्म ६१ वटा पुल निर्माण सम्पन्न भएका छन्। पूर्वी खण्डमा निर्माण गर्नुपर्ने ३४ वटा पुलमध्ये सबैको काम सकिएको छ।
बुटवल–नारायणगढ सडक विस्तार आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी शिव खनालका अनुसार सम्पन्न पुलहरूमध्ये १२ वटा ठूला र २२ वटा साना पुल रहेका छन्। निर्माण सम्पन्न भएका पुलमध्ये ३३ वटामा यातायात सञ्चालन भइसकेको छ।
अरुणखोलामा निर्माण गरिएको पुल फागुन २१ गतेको निर्वाचनअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजनाले जनाएको छ। यस्तै, पूर्वी खण्डतर्फ निर्माण गर्नुपर्ने २११ वटा कल्भर्टको काम पनि पूर्ण रूपमा सम्पन्न भएको छ।
सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा निर्माण गर्नुपर्ने ९ वटा ठूला पुलको काम सकिएको छ। १९ वटा साना पुलमध्ये १८ वटाको निर्माण सम्पन्न भइसकेको छ भने बर्दघाटको त्रिवेणी चोकमा निर्माणाधीन पुलको केही काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। पुल र कल्भर्ट निर्माणपछि यस क्षेत्रमा यातायात आवागमन सहज भएको छ।
२०७५ माघमा सुरु भएको उक्त आयोजनाको काम २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले जिम्मा लिएको आयोजना चौथो पटकसम्म म्याद थप भइसकेको छ। हाल थप गरिएको म्याद आगामी साउनमा सकिँदै छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा करिब १ सय १३ किलोमिटर सडक १७ अर्ब रुपैयाँको लागतमा विस्तार भइरहेको आयोजनाले जनाएको छ।











