कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ मा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिताको समापन समारोह सम्पन्न भएको छ। समापन समारोहमा सहभागी हुँदै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार अभिषेक प्रताप शाहले युवाहरूका लागि खेलकुद अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै खेल स्टेडियम निर्माणका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
शाहले फागुन २१ पछि गगन थापा प्रधानमन्त्री हुने दाबी गर्दै त्यसपछि युवासँग सम्बन्धित माग र आवश्यकताहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने बताउनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, ऊर्जाशील र सकारात्मक दिशामा अगाडि बढ्न सहयोग गर्ने बताउँदै स्थानीय तहमा पूर्वाधार विकास अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा नेता हुमाकान्त खनालले खेलकुद युवाहरूका लागि अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै युवाहरू खेलमार्फत अझ जागरुक र सक्रिय हुनुपर्ने बताउनुभयो। त्यस्तै, प्रेम रायमाझी र बिनोद नेपालले वडा नं. ११ मा खेलकुदको आवश्यकता औंल्याउँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताको फाइनल खेलमा थुनिया युवा क्लब विजयी भएको आयोजकले जनाएको छ। समापन समारोहमा विजेता तथा सहभागी टिमहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।











