काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ ।
निर्वाचन अनुगमन निर्देशिकाको दफा ११ को व्यवस्था अनुसार उक्त केन्द्र स्थापना गरिएको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी आज उक्त केन्द्रको उद्घाटन गरेका छन् ।
आयोगद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सञ्चालन गर्न आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने उक्त केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, लगायतका निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहने छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला र प्रदेश निर्वाचन कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी सम्पूर्ण गतिविधि केन्द्रमा प्राप्त हुने र केन्द्रले प्रतिवेदन तयार गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य कार्य जिम्मेवारी रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशका सुरक्षा निकायसँग समेत समन्वय र सम्पर्क गरी निर्वाचनसम्बन्धी वस्तुस्थिति मूल्याङ्कन तथा विश्लेषणसहित प्रतिवेदन आयोगमा पेस गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सबै सूचना र विवरण प्रवक्तामार्फत सबै समक्ष पुर्याउने जिम्मेवारी उक्त केन्द्रमा रहने भएको छ ।











