कपिलवस्तु — एकीकृत सुराई सामुदायिक वन उपभोक्ता समूहको माघ ५ गते हुने निर्वाचनले स्थानीयस्तरमा चासो बढाएको छ। निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानलबाट प्रकाश न्यौपाने अध्यक्ष पदका उम्मेदवार रहनु भएको छ भने नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त प्यानलबाट हालका अध्यक्ष फानेश्वर न्यौपाने पुनः उम्मेदवारका रूपमा मैदानमा उत्रिनु भएको छ।
हालका अध्यक्ष फानेश्वर न्यौपाने अघिल्लो कार्यकालको निरन्तरताका लागि पुनः उम्मेदवारी दिनु भएको हो। उहाँले आफ्नो कार्यकालमा वन संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हितमा काम गरेको दाबी गर्दै आउनु भएको छ।
यता, प्रकाश न्यौपाने सामुदायिक वन नेतृत्वका हिसाबले नयाँ अनुहार भए पनि ऊर्जाशील, पारदर्शी र सबै उपभोक्तालाई समेट्ने नेतृत्व दिने प्रतिबद्धतासहित उम्मेदवारी दिनु भएको छ। उहाँले वनको दिगो व्यवस्थापन, आम्दानी वृद्धिका कार्यक्रम, उपभोक्ताको प्रत्यक्ष सहभागिता र पारदर्शी कार्यशैलीलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ। दुई ठूला दलको संयुक्त समर्थन प्राप्त हुनुले उहाँको उम्मेदवारीलाई अझ बलियो बनाएको स्थानीयको भनाइ छ।
यसैबीच, आम उपभोक्ताहरूले सामुदायिक वनको नेतृत्व एउटै व्यक्ति एकपटकभन्दा बढी दोहोरिन नहुने धारणा व्यक्त गर्न थालेका छन्। लामो समयसम्म एउटै नेतृत्व रहँदा नयाँ सोच र कार्यशैली विकास हुन नसक्ने भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने मत उपभोक्तामाझ बलियो बन्दै गएको छ।
निर्वाचन नजिकिँदै जाँदा दुवै प्यानलले आफ्ना एजेन्डा लिएर उपभोक्तामाझ पुग्ने क्रम तीव्र बनाएका छन्। एकीकृत सुराई सामुदायिक वनको आगामी नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयले स्थानीयस्तरमा उत्सुकता थपिएको छ।











