कपिलवस्तु -कृषि, उद्योग, व्यापार र पर्यटनलाई प्रोत्साहन, आन्तरिक उत्पादन र स्वरोजगार हाम्रो अभियान” भन्ने मूल नारासहित दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक महोत्सव–२०८२ सुरु भएको छ।
चन्द्रौटा उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रमा संचालित उद्योगहरू यस क्षेत्रको वास्तविक पहिचानको रुपमा अगाडि सारेर ती उद्योगको संरक्षण, प्रवर्द्धन र विकासका लागि सबैले अपनत्व लिने वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनु भयो । स्थानीय उद्योग बलियो भए मात्रै रोजगारी सिर्जना, उत्पादन वृद्धि र समग्र आर्थिक समृद्धि सम्भव हुने बताउनु भयो।
उहाँले आर्थिक उन्नतिका लागि पर्यटन क्षेत्रको विकास अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै यस्ता महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री अर्जुन केसीले महोत्सवले स्थानीय किसान, उद्योगी तथा व्यवसायीलाई बजारसँग जोड्ने अवसर सिर्जना गर्ने बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य जमसेर अलिमियाले यस्ता प्रदर्शनीले आन्तरिक उत्पादनको खपत बढाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।
त्यसैगरी शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरको आर्थिक तथा पर्यटकीय विकासमा महोत्सव उपयोगी हुने बताउँदै नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
उपप्रमुख शिवकुमारी चौधरीले महिला तथा युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न महोत्सव प्रभावकारी हुने बताउनुभयो।
चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेलले निजी क्षेत्र र स्थानीय तहको सहकार्यले मात्रै आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले चन्द्रौटा महोत्सवले लुम्बिनी प्रदेशको उद्योग, व्यापार र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।
कार्यक्रमको उद्घाटन समारोहको समापन गर्दै महोत्सवका मूल आयोजक समिति संयोजक एवं चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईस्वरी पाण्डेले चन्द्रौटामा सञ्चालन भएका उद्योग, कृषि उत्पादन र व्यवसायलाई एउटै थलोमा चिनाउने उद्देश्यसहित यो महोत्सव आयोजना गरिएको बताउनु भयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उद्योगी, व्यापारी, किसान र उपभोक्ताबीच अपनत्व र सहकार्यको वातावरण सिर्जना गर्नु हाम्रो मुख्य लक्ष्य सहित महोत्सव आयोजना गरिएको बताउनु भयो।
महोत्सवको पहिलो दिन आज दर्जनौं झांकि प्रदर्सकृषि तथा औद्योगिक सामग्रीका स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, व्यापारिक प्रवर्द्धनसँगै मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष ईस्वरी प्रसाद पाण्डेको अध्यक्षता,बरिस्ठ उपाध्यक्ष पारस पाण्डेको स्वागत मन्तब्य एवम् संस्थाका महासचिव राजकुमार क्षेत्रिको संचालनमा कार्यक्रम भएको थियो।











