कपिलवस्तु -हिमपात कृषि सहकारी संस्थाको ९औँ वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभामा संस्थाका अध्यक्ष जीवन केसीले गत आर्थिक वर्षमा सम्पन्न भएका गतिविधि तथा हासिल उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका योजना तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले सहकारीले कृषि क्षेत्रमा उल्लेखनीय तथा उपलब्धिमूलक काम गर्दै आएको बताउनुभयो। उहाँले सहकारीले आम्दानी–खर्चको कारोबारमा मात्र सीमित नरही कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, हिमपात कृषि सहकारीले स्थापनाकालदेखि नै सदस्यहरूलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि सहकारीलाई आत्मनिर्भरता र उत्पादनमुखी अभियानसँग जोड्नुपर्नेमा जोड दिएका थिए। सभाका अवसरमा सहकारीको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।
साधारणसभामा सहकारीको वित्तीय अवस्था, सदस्य सेवा विस्तार तथा भविष्यका रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। सदस्यहरूको सक्रिय सहभागितामा सभा सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ।











