नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेका कारण देशका पश्चिमी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । यी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। त्यसै गरी बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।










