कपिलवस्तु ।पार्टीका आन्तरिक गतिविधि र बैठकहरू नियमित रूपमा सञ्चालन भइरहे पनि जेनजी आन्दोलनपछि नेकपा (एमाले) शिवराज नगर कमिटीले पहिलो पटक खुला मञ्चमा औपचारिक कार्यक्रमको थालनी गरेको छ।
तिहारलगायतका चाडपर्वको अवसर पारेर भोलि कार्तिक २ गते (आईतबार) चन्द्रौटा स्थित दुर्गा मन्दिरको सभाहलमा “शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम” आयोजना गरिएको नगर कमिटीका अध्यक्ष महादेव पोखरेलले जानकारी दिनुभयो।
अध्यक्ष पोखरेलका अनुसार कार्यक्रममा सम्पूर्ण एमालेसँग सम्बन्धित नेता तथा कार्यकर्तालाई उल्लासपूर्ण सहभागिताका लागि निमन्त्रणा गरिएको छ।
यसैगरी प्रचारप्रसार विभाग सचिव रणदिप खतिवडाले शुभदिपावलिको दोस्रो दिन काग तिहारलाई विशेष अवसरका रूपमा लिएर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
नगर कमिटीले यस कार्यक्रममार्फत संगठनभित्रको एकता, उत्साह र सहकार्य पुनः जागृत गर्ने लक्ष्य लिएको पनि खतिवडाले उल्लेख गर्नुभयो।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सामाजिक क्षेत्रका व्यक्तित्व सबैलाई उपस्थिति रहन राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीका अध्यक्ष नारायण सापकोटाले आग्रह गर्नु भयो।
जेनजी आन्दोलनपछि संगठनभित्रको ऊर्जा पुनः सशक्त बनाउन एमाले शिवराजले यो कार्यक्रम आयोजना गरेको हो। पार्टीप्रति आम कार्यकर्ता र युवाको आत्मविश्वास अझ बलियो बनाउने यो अवसर हुनेछ,” भन्दै सबैलाई सक्रिय सहभागिताको लागि अध्यक्ष सापकोटाले आह्वान गर्नुभयो।











