कपिलवस्तु । नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता अकबाल अहमद शाहले हजरत मोहम्मद पैगम्बर सल्लल्लाहु अलैहिवसल्लमको १५०० औं जन्मजयन्ती मौलुदुन्नवी (मोहम्मद डे) को अवसरमा डेढ क्विन्टल (१ क्विन्टल ५० किलो) खजुर वितरण गर्नुभएको छ ।
धार्मिक सद्भाव र सामाजिक सेवामा सक्रिय मानिने शाहले कपिलवस्तुको विभिन्न स्थानमा पुगेर श्रद्धालुहरूलाई खजुर हस्तान्तरण गर्नु भएको हो । उहाँले चन्द्रौटा क्षेत्रमा मात्र ५० किलो, विजयनगर गाउँपालिकामा ६० किलो, कृष्णनगर नगरपालिकामा ३० किलो र शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा १० किलो खजुर वितरण गर्नुभएको हो ।
भव्य र्यालीमा समेत सहभागिता जनाउँदै शाहले स्वयम् उपस्थित भई श्रद्धालुहरूलाई खजुर वितरण गर्नु भएको थियो। अवसरमा उहाँले, “हजरत मोहम्मद पैगम्बरले देखाउनुभएको शान्ति, सद्भाव र मानवताको बाटोमा सबैले अघि बढ्नुपर्छ” भन्दै सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्नुभयो ।
शाहको सामाजिक योगदानप्रति स्थानीयवासीहरू प्रभावित बनेका छन् । खजुर पाएका श्रद्धालुहरूले उहाँलाई सदैव समाजका लागि अगाडि रहने नेता भन्दै प्रशंसा गरेका थिए । स्थानीय बुद्धिजीवीहरूको भनाइमा शाहको सार्वजनिक जीवन धर्म, संस्कृति र समाजसेवाप्रति निरन्तर समर्पित रहँदै आएको छ ।










