कपिलवस्तु - कपिलवस्तुको बिजयनगर गाउँपालिका यस वर्षको स्थानिय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा उत्कृष्ट बन्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार बिजयनगरले ८७.२५ प्रतिशत अंक ल्याउँदै जिल्लामा गाउँपालिका मध्ये पहिलो र समग्रतामा दोस्रो स्थान हात पारेको हो।
मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, प्रशासनिक दक्षता, बजेट व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरणीय व्यवस्थापन तथा सहकार्य–समन्वयलगायत ९ सूचकका आधारमा मूल्याङ्कन गर्दै आएको छ।
बिजयनगर गाउँपालिकाले दीर्घकालीन योजना र खर्च संरचनाअनुसार समयमै बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनलाई मजबुत बनाएपछि यो सफलता हात पारेको हो। साथै, आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा सुशासन पाँचै क्षेत्रमा सन्तुलित बजेट र नतिजामूलक कार्यान्वयन गर्दै जनप्रतिनिधि तथा कर्मचारीकोको सहयोग सहकार्यमा पालिका उत्कृष्ट बन्न सकेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।










