कृष्ण पौडेल, कपिलवस्तु — साउन २५
वर्षौँदेखि आफ्नै भनिने जमिनमा बस्दै आएका तर कानुनी स्वामित्वबाट वञ्चित विजयनगर गाउँपालिका–१ जबाबैराठका २१ थारु परिवार शनिबार ऐतिहासिक क्षणमा सहभागी भए। पहिलोपटक उनीहरूले सरकारी मान्यताको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएपछि गाउँमा खुसीको लहर छायो।
भूमिहीन सुकुम्बासीलाई लालपुर्जा हस्तान्तरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं उपस्थित भए। कार्यक्रममा मन्त्री अधिकारीले हालै कपिलवस्तुमा नापी कार्य सम्पन्न भएको एक महिनाभित्रै विजयनगरका २१ तथा बाणगंगा–७ मोतिपुरडाँडाका २८ घरधुरीले प्रमाणपत्र पाएको जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत देशभर पाँच लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य छ। हाल देशभर करिब १५ लाख भूमिहीन र भूमिसम्बन्धी समस्या भएका परिवारलाई स्वामित्व प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको पनि उनले स्पष्ट पारे। कानुन निर्माणका विषयमा फैलाइएका भ्रमहरूलाई खण्डन गर्दै उनले वन नष्ट गर्ने, सार्वजनिक जग्गा माफियालाई दिने वा आर्थिक चलखेल हुने जस्ता हल्लामा नपर्न आग्रह गरे।
विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले नापी सम्पन्न भएका क्षेत्रमा छिटोभन्दा छिटो प्रमाणपत्र वितरण गर्ने अभियान अघि बढाइएको बताए। जबाबैराठमा असार २९ देखि साउन १ गतेसम्म नापी सम्पन्न भई आवश्यक दाबी–विरोध तथा राजस्व प्रक्रिया पूरा भएपछि वितरण सम्भव भएको उनले जानकारी दिए।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकी, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, नापी कार्यालय प्रमुख जनक भण्डारीलगायतको उपस्थिति थियो। भण्डारीका अनुसार आइतबार मायादेवी गाउँपालिकाका २ हजार घरधुरीलाई पनि लालपुर्जा वितरणको तयारी गरिएको छ। वितरण गरिएका प्रमाणपत्र दुई महिनाभित्र मालपोत कार्यालयमा स्रेस्ता कायम हुनेछन्।










