कपिलवस्तु , २३ साउन ।आसन्न जनैपूर्णिमा र अन्य चाडपर्वलाई लक्षित गर्दै शिवराज नगरपालिकाले मिठाई पसलहरूको अनुगमन गर्दा गम्भीर स्वास्थ्य जोखिम हुने अवस्था फेला परेको छ। बजारमा बेचिने मिठाईमा ढुसी लागेको, बासी तेल प्रयोग गरिएको, साथै फोहोरको व्यवस्थापन नगरेको र झिंगा लागेको अवस्थामा बेचबिखन गरिएको पाइएको छ।
अनुगमन टोलीले निरीक्षणका क्रममा भगवत मिष्ठान भण्डार र ओम साइ नम नम मिष्ठान भण्डारमा गम्भीर लापरवाही भेटिएपछि दुवै पसललाई स्पष्टीकरणका लागि नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ। सरसफाइको मापदण्ड पूरा नगरिएका पसललाई
सुधार गर्न निर्देशन गरेको छ । बासी तेलमा पकाइएको र ढाकिएको नभएका कारण झिंगा बसिरहेको अवस्था पाइइएको थियो।
न्यू गौख स्वीटर हाउस र बिन्दावासिनी मिष्ठान्न भण्डारमा पनि सरसफाइमा कमी देखिएकाले सचेत गराइएको कृषि शाखा प्रमुख तारा चन्द चौधरीले जानकारी दिनुभयो।









