कपिलवस्तु — विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ करोड ९३ लाख ५६ हजार ७ सय २७ रुपैयाँको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार गाउँसभामा प्रस्तुत गरिएको विनियोजन ऐन–२०८२ र आर्थिक ऐन–२०८२ समेत उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीद्वारा दोस्रो बैठकमा पेश भई पारित गरिएको हो।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँसभालाई सम्बोधन गर्दै पारित बजेट कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको जानकारी दिनुभयो।
सभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ८ जना कर्मचारी र गाउँपालिकाको विकासमा योगदान पुर्याउने २ जना पत्रकारलाई नगदसहित सम्मान गरिएको छ।
सम्मानित कर्मचारीहरूमा हरिहर बेल्बासे, कोशिल्या घिमिरे, सुरेश बस्याल, किरन तामाङ, अनिल सापकोटा, प्रेम कुमारी पठाक, साबित्रा सुनार र राजेश प्रसाद पासी रहेका छन्।
पत्रकारतर्फ राष्ट्रिय दैनिक गोरखापत्रका संवाददाता जानु र बुटवल टुडेका संवाददाता रामअवतार चौधरीलाई नगदसहित सम्मान गरिएको हो।










