कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरमा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समितिले खाता सञ्चालन नगरी नविकरण शुल्कका नाममा उपभोक्ताबाट रकम उठाएको पाइएको छ।
गत जेठ १७ गते निर्वाचित अध्यक्ष विनोद कुँवर नेतृत्वको नयाँ समितिले नवीकरण शुल्कको रूपमा १०० रुपैयाँ र उपभोक्ता परिचयपत्र शुल्क २०० रुपैयाँ गरि प्रतिपरिवार ३०० रुपैयाँ उठाएको एक उपभोक्ताले नाम नखुलाउने सर्तमा जानकारी दिएका छन्।
उपभोक्ताहरूले खाता नखोली रकम संकलन गरिएको विषयमा सोधपुछ गर्दा सहसचिव भूपेन्द्र विसीले पुरानो विधान देखाएर जवाफ दिएको बताइएको छ।
१५१० जना उपभोक्ता रहेको मनकामना सामुदायिक वनले विगतमा पनि यस्तै प्रकारको शुल्क असुली गरेको उपभोक्ताहरूको गुनासो छ। सात महिना अघि पनि प्रतिपरिवार ३०० रुपैयाँ लिइएको र अहिले नामसारीको ५०० र नविकरणको ३०० रुपैयाँ गरी ८०० रुपैयाँ उठाउँदा असन्तुष्टि चुलिएको हो।
यसबाहेक रसिद दिँदा रकम बुझाउनेको हस्ताक्षर नगराई मात्र बुझिलिने व्यक्तिको हस्तान्तरण गराएर रसिद वितरण गरिएको भन्दै उपभोक्ताहरूले आपत्ति जनाएका छन्।
नयाँ समिति चयन भएपनि पुरानै शैलीमा खुला खाताविना रकम संकलन गरेर दुरुपयोगको सम्भावना बढेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।
अन्य सामुदायिक वनहरूमा नविकरण शुल्क २० रुपैयाँ मात्र लाग्ने बताइए पनि, मनकामनामा अत्यधिक शुल्क लिइएको भन्दै उपभोक्ताहरूले असन्तोष पोखेका छन्।
समितिका अध्यक्ष विनोद कुँवरका अनुसार, पुरानो समितिले प्रयोग गरेको खाता बुझ्न नसकेका कारण नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि घरभाडा, वन रक्षकको तलब र कार्यलय खर्चका लागि १५० उपभोक्ताबाट प्रतिपरिवार ३०० रुपैयाँका दरले रकम संकलन गरिएको हो।
तर, उपभोक्ताको सहभागिताबिना र स्पष्ट पारदर्शिता नदेखिएको भन्दै समितिको उक्त कार्यशैलीप्रति आलोचना हुन थालेको छ। स्थानीयले नयाँ समितिसँग सुधारको अपेक्षा गरेका थिए तर पुरानै प्रवृत्ति देखिएको भन्दै गुनासो गरिरहेका छन्।











