घनश्याम भर(विजयनगर) कपिलवस्तु, १६ असार ।कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा शैक्षिक समताका लागि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका शिक्षा शाखाकाे आयाेजना र अभ्युदयम् याेेग ध्यान अध्यात्मिकता संस्थाकाे समन्वयमा अभिभावक शिक्षा कार्यक्रम गरिएको शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले विद्यालयकाे शैक्षिक गुणस्तरीयता, व्यवस्थापकीय र प्रशासनिक क्षेत्रलाई राम्रो बनाउने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम गरिएको आयाेजना गरिएको बताए । शिक्षालाई सार्थकता दिन निरन्तर लागेकाे बताउँदै विद्यार्थी भर्ना शतप्रतिशत भएको उनलेे बताए ।
ड्रफआउट विद्यार्थीलाई नियमित गराउने विषयलाई गम्भीरतापुर्वक लिनुपर्नेमा उनले जाेड दिए । अध्यक्ष थापाले विद्यार्थीकाे संख्याकाे आधारमा नयाँ दरबन्दी कम भएको हुँदा १ सय भन्दा बढी विद्यार्थी पढाउनु पर्ने बाध्यता भएको बताए । शिक्षालाई प्राथमिकता दिन नसकेे सामाजिक विकासमा पूर्णता नपाउने उनको भनाइ छ । बालबालिकाकाे पढ्ने अधिकार सुनिश्चित गर्न सबैले लाग्नुपर्ने उनले जिकिर गरे ।
यस्तै गाउँपालिका अध्यक्ष लक्ष्मी कुमारी चाैधरीले अभिभावकले बालबालिकाकाे हरेक कुरा जान्नुपर्ने जरुरी रहेको बताइन् । बालबालिकाकाे पढाईमा चाँसाे नराखे शैक्षिक उपलब्धी नदेखिने उनको भनाइ छ । शैक्षिक सुधारका लागि प्रधानाध्यापकले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै आधारभूत तहलाई नै गुणस्तरीय बनाउनुुपर्नेमा चाैधरीले जाेड दिइन् ।
स्थानीय विद्यालयमा सञ्चालन गरिएको अभिभावक शिक्षा कार्यक्रमले महत्वपूर्ण छलफल र ज्ञान वृद्धिमा योगदान दिएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक र जनप्रतिनिधिहरुका सदस्यहरुले सक्रिय रूपमा भाग लिएका यस कार्यक्रममा प्रशिक्षक किशोर कुमार खनाल र बिन्दा आचार्यले सहजीकरण गरेका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरुलाई विद्यालयको शैक्षिक गतिविधिहरुमा सक्रिय सहभागिता जनाउन र आफ्ना सन्तानको शिक्षामा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा ज्ञान प्रदान गरिएको छ । प्रशिक्षक खनालले अभिभावकहरुको भूमिका बारे चर्चा गर्दै विद्यालय र घरका बीचको समन्वयको महत्वका विषयमा जानकारी दिएका थिए ।
त्यस्तै प्रशिक्षिका आचार्यले अभिभावकहरुलाई व्यक्तिगत र समुहमा जिम्मेवारी धारणा गर्दै सन्तानको विकासमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने विषयमा व्याख्या गरिन् । कार्यक्रमका सहभागी अभिभावकहरुले पनि आफ्ना जिज्ञासा साझा गर्दै स्वस्थ शिक्षण वातावरण सुनिश्चित गर्नका लागि आवश्यक सुझाव आउनु आवश्यक रहेको बताएका थिए ।
यस कार्यक्रमको सफलताले विद्यालय र अभिभावक बीचको सहकार्यका लागि नयाँ ढोका खोल्ने विश्वास जगाएको छ । अभिभावक शिक्षालाई निरन्तरता दिनका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई आयोजना गर्दै जाने आयाेजकले जाेड दिएकाे छ ।










