कपिलवस्तु, शिवराज – शिवराज नगरपालिका वडा नम्बर–५, उत्तर रहटकोलमा आयोजित २० दिने ढकिया बनाउने तालिम मंगलबार सम्पन्न भएको छ। थारु महिलाहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्य सहित थारु कल्याणकारीणी सभा नगर कार्य समितिको आयोजनामा तथा वडा नम्बर–५ को आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
समापन समारोहमा थारु कल्याणकारीणी सभा नगर अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेको विशिष्ट आतिथ्यता रहेको थियो।
उपप्रमुख थारूले महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउँदै समाज रूपान्तरणको प्रेरक पात्र बनाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो । “स्थानीय स्रोत र साधनको सही उपयोगले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन सकिने उँहाको भनाइ छ । यस्ता सीपले स्थानीयहरूलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्दै तालिमले उनीहरू सिपसँगै स्वरोजगारमा बन्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, वडा अध्यक्ष बेल्वासेले स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै महिलाहरूलाई आयमूलक कार्यमा संलग्न गराउने यस्ता तालिमको आवश्यकता रहेको बताउनुभयो। ढकिया बनाउने परम्परागत सीपले महिलाहरूलाई स्वरोजगारको बाटो देखाउँने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य प्रेम सुनार, खगि सुनार, वडा सदस्य सिता रेग्मी, मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायत थारु अगुवाहरूको उपस्थिति रहेको थियो।
ढकिया बनाउने परम्परा थारु समुदायको जीवनशैलीसँग जोडिएको र काँस तथा मुज जस्ता स्थानीय वनस्पतिको प्रयोग गरी बनाउने गरीन्छ ।











