कपिलबस्तु, जेठ २७ गते । अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका बिभिन्न पालिकाले विद्यालय बिदा दिएका छन् । जिल्लाका कपिलबस्तु, बुद्धभुमि, बाणगंगा नगरपालिका , विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाले गर्मी विदा दिएका हुन् ।
वुद्धभुमि र बाणगंगा नगरपालिकाले मंगलबार गते २७ गतेदेखि शुक्रबार ३० गतेसम्म (चार दिन) गर्मी बिदा दिएका छन् । दुवै पालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
दुवै पालिकाले जेठ २७ देखि ३० गतेसम्म विद्यालय बन्द रहने सूचना निकालेका छन् । गर्मी निरन्तर बढ्दै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय ४ दिन बिदा दिएका छन ।
पठनपाठनमा समस्या आएकाले ४ दिनका लागि बिदा दिइएको बुद्धभुमी नगरपालिका शिक्षा शाखाका कृष्णप्रसाद भट्टराईले बताएका छन् ।
कपिलबस्तु नगरपालिका , विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाले बुधबार २८ गतेदेखि शुक्रबार ३० गतेसम्म तीन दिन सम्म गर्मी विदा दिने निर्णय गरेका हुन ।
बढ्दो अत्यधिक गर्मीले बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा बिदा दिने निर्णय गरिएको पालिकाले प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
जिल्लाका अधिकांश विद्यालय टीनको छानो भएको र विद्युत् समेत अनियमित हुने गरेको छ। जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरू बताउँछन् । गर्मीका कारण साना बालबालिकाहरू कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरू बताउँछन् ।
जिल्लाका अन्य ५ स्थानीय तहले समेत विद्यालय बन्द गर्नेबारे छलफल चलेको बताएका छन् ।











