कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवा गाउँमा गए राति तीन घरमा चोरी भएको छ। मध्यराति करिब १२ बजेको समयमा अज्ञात समूहले योजनाबद्ध रूपमा चोरी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
छविलाल बन्जाडे, कोपिला मिदुन र लीलबहादुर राउतको घरमा चोरी भएको हो ।पीडित छविलाल बन्जाडेका अनुसार करिब ३ तोला बढी सुन र नगद ४९ हजार रुपैयाँ चोरी भएको छ। त्यस्तै कोपिला मिदुनको घरबाट १ तोला बढी सुनसहित ३ हजार रुपैयाँ हराएको पीडित परिवारले जानकारी दिए । त्यस्तै लीलबहादुर राउतको घरबाट १ तोला सुनको गरगहना चोरी भएको छ ।
चोरले केही चोरेका गरगहना नजिकैको एक घरको बरण्डामा फ्यालेर सुनमात्र लिएर गएको पाइएको छ। अन्य सामान त्यहीँ फालिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
घटनापछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले अनुसन्धान सुरु गरिसकेको छ। चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।











