केशव बेल्वासे, कपिलवस्तु -
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ३ मा चालु आर्थिक वर्ष २०८१/८२ मा करिब ६ करोड ४८ लाख रुपैयाँ बराबरका विभिन्न योजना सम्पन्न भएका छन्। वडाध्यक्ष टेकलाल सापकोटाका अनुसार वडा, नगरपालिका, प्रदेश तथा संघ सरकारका योजनाअन्तर्गत साढे ६ करोड बराबरका योजना सम्पन्न भएका हुन्। वडाध्यक्ष सापकोटाले वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिँदै सोनवागढ मन्दिर, स्वर्गद्वारी मन्दिर र सुपा देउराली मन्दिरलाई एउटै करिडोरमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना रहेको बताउनुभयो।
यस आर्थिक वर्षमा सम्पन्न योजनाहरूमा १८०० मिटर सिचाइ कुलो निर्माण, २७५० मिटर मदवा–सोनवर्सी–बलुहवा–देउराली टोल पक्की सडक निर्माण, ११०० मिटर खेन्द्रपुर–कटुवा–स्वर्गद्वारी टोल पिसीसी ढलान, १५४० मिटर नाली निर्माण, दुईवटा कलभर्ट निर्माण, डिप बोरिङ जडान, श्री आधारभूत विद्यालय मदवामा दुई कोठे भवन र दुर्गा भगवती मावि नयाबस्तीमा चार कोठे भवन निर्माण सम्पन्न भएका छन्।
त्यसैगरी, नयाबस्ती र मैनारका विद्यालयमा कम्पाउन्ड वाल निर्माण, १३ सय मिटर सिचाइ पाइपलाइन विस्तार, ४७७० मिटर बाटो स्तरोन्नति, ८४० मिटर कृषि सडक विस्तार, १५ जना किसानलाई चापाकटर वितरण, खरको छानो मुक्त कार्यक्रमलाई निरन्तरता दिँदै ४५ घरमा जस्तापाता वितरण, १४ जनालाई खानेपानी नल पाइप वितरण, वडा स्तरीय खेलकुद कार्यक्रम, १७५ किशोर–किशोरीलाई सचेतना कार्यक्रम, २५ जनालाई फिनायल बनाउने तालिम, ४७५ किसानलाई गहुँको बीउ वितरण, १६५ जना जेष्ठ नागरिकलाई सम्मान, दुई स्थानमा आँखा शिविर तथा १०५ जनालाई खेल सामग्री वितरण गरिएको छ।
धेरै योजना सम्पन्न भई भुक्तानी भइसकेको र केही योजनाहरू भुक्तानीको प्रक्रियामा रहेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो। वडाको समग्र विकासलाई ध्यानमा राख्दै आगामी योजना निर्माण तथा कार्यान्वयनमा जोड दिने पनि उहाँले बताउनुभयो।












