कृष्ण पौडेल कपिलवस्तु।कपिलवस्तुको पत्थरदेइया स्थित जनता आधारभूत विद्यालयमा दुई कोठे पक्की भवन निर्माण कार्य सुरु गरिएको छ। उक्त भवनको शिलान्यास लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादव र वडा नं. ३ का अध्यक्ष हृदय बिकास चौधरीले संयुक्त रूपमा गरे।
प्रदेश सरकारको लगानीमा करिब २५ लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनले ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीको सिकाइमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले विद्यालयमा भौतिक पूर्वाधारको अभावका कारण शिक्षण सिकाइमा समस्या भइरहेको उल्लेख गर्दै नयाँ भवनले शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने बताए। साथै, उनले आगामी वर्ष पनि २५ लाख रुपैयाँको बजेट विनियोजन गर्ने आश्वासन दिए।
वडा अध्यक्ष चौधरीले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले भविष्यमा शिक्षा क्षेत्रको थप विकास हुने उल्लेख गरे। उनले आगामी दिनमा विद्यालय सुधारका अन्य योजनाहरू पनि ल्याउने प्रतिबद्धता जनाए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय जनप्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भवन निर्माणपश्चात सिकाइ वातावरण थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।










