कपिलवस्तु, । शिवराज नगरपालिका वडा नम्बर ५ ले श्री राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाका विद्यार्थीहरूलाई लक्षित गरी व्यक्तिगत घटना दर्ताको महत्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा वडा अध्यक्षले व्यक्तिगत घटना दर्ता जनताको कानुनी अधिकार तथा सेवामा पहुँचको आधार भएको बताउनुभयो। “जन्म, विवाह, मृत्युजस्ता व्यक्तिगत घटना समयमै दर्ता गर्नु नागरिक कर्तव्य हो। यसले सरकारी सेवा प्राप्तिमा सहजता ल्याउने बताउनु भयो।
विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यार्थीहरूमा प्रारम्भदेखि नै नागरिक जिम्मेवारी र कानुनी ज्ञान विकास गर्नु आवश्यक रहेको बताउनुभयो। विद्यार्थीहरू स्वयं सचेत भए मात्र उनीहरूका परिवार र समुदाय सचेत हुने भन्दै ब्यक्तिगत घटना दर्ता जस्ता कार्यक्रममा चनाखो हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन वडा सचिव कल्पना चौधरीले गर्नुभएको थियो भने, सहजीकरण शिवराज नगरपालिकाका एमआईएस अपरेटर दीपक खड्काले गर्नुभएको थियो। उहाँले सहभागी विद्यार्थीहरूलाई व्यक्तिगत घटना दर्ता प्रक्रिया, कानुनी पक्ष, अनलाइन दर्ता प्रणाली र आवश्यक कागजातबारे जानकारी दिनुभएको थियो।
अन्तक्रिया कार्यक्रममा कक्षा ८ देखि १० सम्मका करिब ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। उनीहरूले दर्ता प्रणालीबारे जिज्ञासा राखी सक्रिय सहभागिता जनाएका थिए।











