चन्द्रौटा - कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा आयोजित घरेलु उद्यमसम्बन्धी तालिमले व्यवहारिक उपलब्धि हासिल गरेको छ। तालिम प्राप्त महिलाहरूले मिलिजुली महिला लघुउद्यम ले हारपिक, फिनाइल, टायल क्लिनर, सर्फ, ह्यान्ड वास र डिस वासजस्ता दैनिक प्रयोग हुने सरसफाइ सामग्रीहरूको उत्पादन सुरु गरेका छन्।
“सिकेको सीपलाई उपयोग गरौं, आत्मनिर्भरता तर्फ कदम चालौं” भन्ने भावना बोकेर महिलाहरू सामूहिक रुपमा उत्पादनमा जुटेका हुन्। शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त उत्पादन कार्यको औपचारिक उद्घाटन गरिएको हो।
वडाध्यक्ष टेकलाल सापकोटाले महिलालाई दिइएको सीपमूलक तालिमको प्रतिफल उत्पादनको सुरुवातमा देखिएको बताउँदै यसले महिलाहरूको आत्मनिर्भरता र व्यावसायिक क्षमतामा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासे, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे लगायतको उपस्थिति रहेको थियो।
उद्यम संयोजक अनिता भुसालले तालिमपछि महिलाहरूबीच सहकार्य बढ्दै गएको र बजार विस्तारसँगै उत्पादनको गुणस्तरमा निरन्तर ध्यान दिइने बताइन्। स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना हुने भएकाले यस्तो पहलले आयातमा निर्भरता घटाउनुका साथै महिला आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
यसरी, सामान्य तालिमबाट सुरु भएको प्रयासले आज व्यावसायिक मोड लिएको छ, जुन स्थानीय विकास, स्वरोजगार र समावेशी आर्थिक समृद्धिको स्पष्ट संकेत हो।











