कपिलवस्तु, बैशाख २४।शिवराज नगरपालिकाले युवाहरुलाई उद्यमशील र आत्मनिर्भर बनाउने लक्ष्यसहित स्टार्टअप व्यवसाय सुरु गर्नका लागि २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।
देशमै पहिलोपटक युवालाई लक्षित गर्दै स्टार्टअप उद्यमी कर्जा दिने योजना सार्वजनिक गरेको छ । संघीय ऐनअनुसार कार्यविधि तयार गरी युवालाई स्वरोजगार र व्यवसायिक बन्न प्रोत्साहन गर्न पालिकाले कर्जा वितरण प्रक्रिया अघि बढाएको हो। सिप भएका युवालाई आफ्नै गाउँमा व्यवसाय सुरु गर्न प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिएको नगर प्रमुख अजय थापाले बताउनु भयो । यो कार्यक्रमले बेरोजगार युवालाई अब विदेश होइन, शिवराजमै सम्भावना खोज्न मदत पुग्ने बताउनु भयो ।
कर्जा पाउनका लागि साझेदारी फर्म दर्ता भइसकेको हुनुपर्नेछ, उद्यम पालिकाभित्र सञ्चालन हुनु पर्नेछ, साथै परियोजनाको लागत, हालसम्मको खर्च र स्पष्ट योजना भएको आवेदन फारम अनिवार्य हुनु पर्ने छ ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार छनोटमा परेका व्यवसायिक योजनाहरुलाई तीन किस्तामा कर्जा दिइनेछ। पहिलो किस्तामा कुल स्वीकृत कर्जाको ५० प्रतिशत उपलब्ध गराइनेछ। कर्जाको अधिकतम अवधि पाँच वर्ष रहनेछ र दोस्रो वर्षदेखि साँवा तथा ब्याज तिर्नुपर्नेछ।
पालिकाले यसअघि युवाहरुलाई सिप विकास तालिममार्फत व्यवसायिक बनाउने प्रयास गर्दै आएको थियो। कुक, बारिष्टा, बेकरी, अचार बनाउने, चप्पल बनाउने, सिलाई-कटाई जस्ता तालिम लिएका युवाहरुलाई अब व्यवसायमा परिणत गर्न कर्जा दिइनेछ।
शिवराज नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै युवा पलायन नियन्त्रणमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। इच्छुक युवाहरुबाट स्टार्टअप प्रस्ताव माग गरिएको छ।










