कपिलवस्तु वैशाख २० ।कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्ज स्थित शिवराज अस्पतालमा सन्चालन भएको मुटु तथा मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २ हजार जनाले चेकजाँच गराएका छन ।
यस क्षेत्रका नागरिकहरूको मृगौला र मुटुको चेकजाँचका लागि शिविर सञ्चालन गरिएको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । शिविरमा मुटु र मृगौला सम्बन्धी समस्या भएका बिरामीहरूले निःशुल्क रुपमा सेवा लिएको नगरप्रमुख शाहले जानकारी दिनुभयो ।
टिचिङ अस्पताल महाराजगन्ज काठमाडौका डिन डाक्टर दिब्या सिंह शाहले तराई क्षेत्रका नागरिकहरूले आफ्नो स्वास्थ्यमा ध्यान नदिँदा मुटु सम्बन्धी बिरामीको चाप बढेको बताउनुभयो ।
नागरिकहरू सुगममा भएपनि आफ्नो स्वास्थ्य प्रती गम्भीर नहुदा मृगौलाका रोगी र मुटुसम्बन्धी रोगीको सङ्ख्या बढेको हुनसक्ने डाक्टर दिव्या सिंह शाहले बताउनुभयो ।
शिविरमा आउनुभएको सिटिभिएस डक्टर अनिल भट्टराईले यस क्षेत्रका नागरिकहरूले आफ्नो खानपानमा ध्यान नदिँदाखेरि मुटु र मृगौला सम्बन्धी रोग भएको बताउनुभयो ।
खासगरी मृगौला सम्बन्धी समस्याका बिरामीहरू बढी आएको डाक्टर भट्टराईले बताउनुभयो ।
कपिलवस्तुका युवानेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले यहाका विरामी बुटवल, भैरहवा वा भारत नै जानुपर्ने हुँदा शिविरले फाइदा पुगेको बताउनु भयो ।
शिविरको पहिलो दिनको स्वास्थ्य शिविरमा ८४६ जनाले सेवा लिएका थिए । ल्याब परीक्षण १३० जना, १६५ जना इसीजी ३५१ जना इको १७८ जना बिरामीले सेवा लिएका थिए ।
शिविरको दोस्रो दिन ११५४ जनाले सेवा लिएका थिए ।
ल्याब १९४ जना, युएसजी ३३९ जना, एक्सरे ५५ जना इसीजी ३७० जना र इको २३३ जनाले सेवा लिएको शिवराज अस्पताल प्रशासनले जनाएको छ ।
शिवराज अस्पतालका फोकल पर्सन डा. दुर्गेलाल चौधरीले शिविरमा मुटु र मृगौलासम्बन्धी विविध स्वास्थ्य सेवा परामर्श, ईसीजी, इको कार्डियोग्राफी, रक्त परीक्षण तथा आवश्यक औषधिसमेत वितरण गरिएको बताउनु भयो ।
कृष्णनगर नगरपालिकाको सहयोगमा विहिवार र शुक्रवार सन्चालित शिविरमा मृगौला तथा प्रत्यारोपण विभाग त्रि वि शिक्षण अस्पताल महाराजगन्ज, मुटु जोगाउँ काठमाडौँ, मनमोहन कार्डियो थेरासिक मास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग रहेको थियो ।











