काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ। हिउँदे खडेरीपछि केही दिनअघि परेको पानीले शीतल महशुस गरिए पनि केही दिनयता तातो बढेको छ।
तापक्रम बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ। बढ्दो गर्मीका कारण मानिसहरूमा आँखा पोल्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र जिउ चिलाउने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ।
कति छ तापक्रम ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै गर्मी भैरहवामा भएको छ। मंगलबार धनगढी, भैरहवा र नेपालगञ्जको तापक्रम सबैभन्दा बढी ४० डिग्री सेल्सियससम्म पुगेको थियो। सोमबार भैरहवामा ३८.९ डिग्री सेल्सियस मापन गरिएको थियो।
यस्तैगरी काठमाडौंको न्यूनतम् तापक्रम १६-१८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१.४ डिग्री थियो। काठमाडौंको हाल सम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियससम्म पुगेको थियो।
बुधबार काठमाडौंको अधिकतम तापक्रम ३१-३३ डिग्री पुग्ने अनुमान गरिएको छ भने भैरहवा र नेपालगञ्जमा ४०-४२, धनगढीमा ३९-४१, दिपायल, सिमरामा ३८-४० र जनकपुर, वीरेन्द्रनगरमा अधिकतम तापक्रम ३७-३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार तराईमा तापक्रम ४० डिग्री पुग्नु हिट वेभ मानिन्छ भने काठमाडौंमा ३२ डिग्री नाघ्नु अत्यधिक गर्मी हुनु हो।
वैशाखमा गर्मी स्वाभाविक
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेल अहिलेको बढ्दो तापक्रम स्वभाविक भएको बताउँछिन्। ‘चैत, वैशाख, जेठ तातो बढ्ने महिना भएकाले वर्षा नहुञ्जेल तत्कालको बढ्दो गर्मीलाई स्वाभाविक मान्नुपर्छ’, उनले भनिन्।
यद्यपि लामो समयसम्म पानी नपरेर तापक्रम वृद्धिले अघिल्ला वर्षको रेकर्ड तोड्ने अवस्था भयो भने यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित भएको मान्न सकिने उनको भनाई छ।
हिट वेभको प्रभाव
तत्काल मौसम परिवर्तन भइहाल्ने अवस्था नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविदद् बताउँछन्। आकाश खुलेकोले सूर्यको किरण सिधै आउने भएकाले गर्मी झनै बढेको भन्दै मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म पानी पर्ने वा बादल लाग्ने सम्भावना नदेखिएकाले गर्मी थप बढ्ने जानकारी दिए।
त्यसो त, विज्ञहरूले यो पटक औसतभन्दा बढी गर्मी हुने यसअघि नै अनुमान गरेका थिए। जलवायु विज्ञ डा. उप्रेती अत्यधिक तापक्रमको पहिलो लहर भारतीय सीमा नजिक आइसकेकाले यसको प्रभावस्वरूप काठमाडौंमै पनि गर्मी ह्वात्तै बढेको बताउँछन्। अर्को प्रणाली नआउञ्जेल गर्मी अझै बढ्ने उनले बताए।
‘भारतमा अलर्ट जारी गरिसकेको छ, भारतको मौसम विज्ञान विभागले बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम उत्तर प्रदेशलगायत धेरै ठाउँमा बढ्दो तापक्रमसँगै अत्यधिक गर्मी (हिट वेभ/तातो लहर ) पहेँलो अलर्ट जारी गरिसकेको छ’, डा. उप्रेतीले भने, ‘यसको अर्थ नेपालमा सीमा जोडिएका धेरै ठाउँसम्म गर्मी बढेको छ।’
अबको केही दिन कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि त्यसले बढ्दो तापक्रमलाई घटाउने क्षमता तत्काललाई नराख्ने उनले बताए। जलवायुको क्षेत्रमा अनुसन्धान गर्दै आएको एपेक क्लाइमेट सेन्टर कोरियाले यसपटक खास गरेर दक्षिण एसिया र एसिया क्षेत्रमै औसतभन्दा बढी गर्मी हुने अनुमान गरेको थियो।
‘जति तापक्रम ३० वर्षमा हुन्थ्यो, अर्थात् काठमाडौंमा ३२ डिग्री ३० बर्ष लामो अवधिको औसत हो, तर यसपटक ३३ देखि ३५ सम्म हुन्छ भनिएको छ। त्यसैले यसपटक तापक्रम वृद्धिले रेकर्ड ब्रेक हुने सम्भावना पनि छ’ उप्रेती भन्छन्।
मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशको पहाडी भूभागका एक दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा र बागमती, कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एकदुई ठाउँमा हल्का वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रको मौसम सफा छ।
मधेश प्रदेशको तराई, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई पुरै क्षेत्रमा मुख्यत: मौसम सफा रहने महाशाखाले जनाएको छ। बिहीबार पनि कोशी, बागमती, गण्डकीका हिमाली र पहाडी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना बाहेक अन्य ठाउँमा पानी पर्ने सम्भावना देखिएको छैन।
महाशाखाले गत बिहीबार जारी गरेको साप्ताहिक बुलेटिनमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिएको भन्दै साता भर अधिकतम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना देखाएको थियो।











