चन्द्रौटा – इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट बुधबारदेखि औपचारिक रूपमा राहदानी सेवा सुरु गरिएको छ। शिवराज नगरपालिकाका मेयर अजय थापा र प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङले संयुक्त रूपमा सेवाको उद्घाटन गर्नु भएको छ ।
२०५४ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट यसअघि राहदानी सेवा उपलब्ध थिएन। राहदानी बनाउनका लागि स्थानीयवासीलाई जिल्लाको सदरमुकाम तौलिहवा धाउनुपर्ने बाध्यता टरेको छ । अब शिवराज, विजयनगर र कृष्णनगर क्षेत्रका नागरिकहरूले चन्द्रौटामै रही सहज रूपमा राहदानी सेवा लिन सक्ने भएका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अजय थापाले यो सेवा सुरु भएसँगै नागरिकको समय र खर्च दुबैको बचत हुने बताउँनु भयो । अब नागरिकले छिटो र सजिलो रूपमा राहदानी सेवा पाउने बताउनु भयो
त्यसैगरी प्रमुख जिल्ला अधिकारी तामाङले विगतमा नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणमा सीमित रहेको कार्यालयले अब राहदानी सेवा समेत प्रदान गर्न थालेको जानकारी दिनु भयो ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै, दक्ष जनशक्ति र प्रविधिको प्रयोगमार्फत नागरिकलाई छिटो र भरपर्दो सेवा उपलब गराइने बताउनु भयो।
शिवराज नगरपालिका–५ का वडाध्यक्ष नेत्र बेल्बासेले राहदानी सेवा सुरु हुनु यश क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । नागरिकलाई सेवाको पहुँचमा ल्याउने हाम्रो अभियान यसबाट थप सार्थक भएको बताउनु भयो ।
सेवा सुरु भएको पहिलो दिन राहदानी सेवा लिएका शिवराज–५ निवासी विजय सापकोटाले चन्द्रौटाबाटै सेवा पाउँदा सहज र खुसी लागेको प्रतिक्रिया दिनु भयो ।











